मानिसको खोजि

- विश्वनाथ 'प्रेम'


छाडेर काम सारा एक काम रोजिरेछु
यो देशमा म एउटा मानिस खोजिरेछु ।

भेटे कहीँ बताए, हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखे सबलाई साधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ।

(आमा यदि नबाँचे कस्को पियार पिउने
कुन काखमा रमाउँने कसका निमित्त जिउने ।)

मुर्छित मातृभूमिको प्राणको हरणमा
यो विषको घडा जो पिउँने छ वीर रणमा
त्यस्ता परम प्रतापी त्यस्ता अजेय नायक
अवतार भएर मानौँ भूभार हर्न लायक
म त्यही महान मानवको मार्ग खोपिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ।

(यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने?
होला कुनै त बाटो जोडेर साथ लाने ।)

पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै सरि अरुको जो बुझ्छ भित्री मर्म
सञ्चेतना जगाई यो देश माथि लाने
आशा र उन्नतिको दृष्टि दिएर जाने
म त्यही नयाँ भविष्यको वीज रोपिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ।